जेष्ठ सदस्य पशुपति शम्शेर जबरालाई सपथ गराउने राष्ट्रपति कार्यालयको तयारी
काठमाडौं । राष्ट्रपति कार्यालयले नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई बुधबार शपथ ग्रहण गराउने तयारी गरेको छ ।
राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालका अनुसार बिहीबार राष्ट्रपति भण्डारी बुटवल जाने कार्यक्रम छ । त्यसकारण बुधबार नै शपथ ग्रहण गराउने तयारी भएको हो । तर, समय तय हुन बाँकी छ ।
प्रतिनिधिसभामा निर्वाचित भएका २७५ सांसदलाई शपथ ग्रहण गराउनुअघि ज्येष्ठ सदस्य आफैंले शपथ लिनुपर्नेछ । संघीय संसद सचिवालयले सांसदहरुको शपथ कार्यक्रम ७ पुसको दिउँसो १ बजे तय गरेको छ ।
संघीय संसद सचिवालयका अनुसार सोमबार बेलुकी ज्येष्ठ सदस्य पहिचान गरेर राष्ट्रपति कार्यालयलाई जानकारी गराइएको थियो । ज्येष्ठ सदस्यले अन्य सांसदहरुलाई शपथ ग्रहण गराउनुका साथैसभामुख चयन नहुँदासम्म प्रतिनिधिसभाको अध्यक्षता गर्नेछन् ।