विश्वकप विजेता अर्जेन्टिनालाई स्वदेशमा भब्य स्वागत

भूगाेल संवाददाता
५ पुष २०७९, मंगलवार १५:१९

 

काठमाडौं । विश्वकप विजेता टिम अर्जेन्टिनालाई मंगलबार स्वदेशमा भव्य स्वागत गरिएको छ । ३६ वर्षपछि कतारमा विश्वकपको उपाधि उचाल्न सफल अर्जेन्टिनाको टिम स्थानीय समयानुसार मंगलबार बिहान राजधानी ब्युनर्स आयर्समा उत्रिएका थिए ।

 

विश्व विजेता टिमलाई स्वागत गर्नका लागि अर्जेन्टिनाको राजधानीमा हजारौँ समर्थक सडकमा उत्रिएका थिए । विमानस्थलमा विमानबाट उत्रँदा कप्तान लियोनल मेसी सबैभन्दा पहिला ट्रफी लिएर बाहिर निस्किएका थिए । त्यसपछि प्रशिक्षक लियोनल स्कालोनी र अर्जेन्टिनी फुटबल संघका अध्यक्ष क्लाउडियो फाबियन टापिए बाहिरिएका थिए ।

 

टिमलाई विमानस्थानलमा रातो कार्पेट ओछ्याएर स्वागत गरिएको थियो । टिमलाई आतिसबाजी र लाइभ ब्यान्डसहितले स्वागत गरेका थिए । विजयी टिमलाई विभानस्थानबाट निस्कनेबित्तिकै निलो र सेतो राष्ट्रिय रङको जर्सी लगाएका समर्थकहरूले हर्षोल्लासका साथ स्वागत गरे ।

मेसीको टिमलाई सेतो बसमा राखेर सहर परिक्रमा गराइएको थियो । सडकमा उत्रिएका हजारौँ समर्थकले अर्जेन्टिनाको झन्डा फहराउँदै र पटाका पड्काएर स्वागत गरेका छन् ।

 

अर्जेन्टिनाले तेस्रोपटक विश्वकपको उपाधि जितेको हो । यसअघि, अर्जेन्टिनाले सन् १९८६ र १९७८ मा विश्वकपको उपाधि जितेको थियो । १९७८ मा मारियो केम्पेसले र १९८६ मा डिएगो म्यारोडोनाले विश्वकपको ट्रफी उचालेका थिए ।

 

कतारमा गएको आइतबार राति सम्पन्न फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै उपाधि उचालेको हो । फ्रान्स गत संस्करणको विजेता टिम हो ।