राईगाउँ रिङरोड निमार्ण समयमै सक्न प्रदेशसभा सदस्य छिन्तुको निर्देशन
बागमती । बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी (छिन्तु) ले मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर २ स्थित निमार्णधिन राईगाउँ रिङरोड स्तरवृद्धिको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा उहाँले रिङरोडको सर्वे गर्नुका साथै लागत अनुमान लगायत विषयमा प्राविधिक टोलीसंग छलफल गर्नुभयो ।
आगामी जेठ मसान्तभित्र निमार्ण सकिसक्नुपर्ने भएकाले समयमै रिङरोड निमार्णको कार्य सम्पन्न गर्न उहाँले प्राविधिक टोलीलाई निर्देशन समेत दिनुभयो ।
आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकारले रिङरोड निमार्णका लागि २५ लाख बजेट बिनियोजन गरेको थियो । गतसाल नालीहरु खन्ने लगायतका काम भएको र अहिले ठाउँ–ठाउँमा कल्भर्ट निमार्ण लगायतका कार्यहरु भइरहेको उहाँले बताउनुभयो ।
रिङरोड राइगाउँ बजार हुँदै सहिद गेट, भुर्कुसटोल, टाँडी र पुनः सहिद गेटमै आउनेछ । १५ किलोमिटरभन्दा बढी रहेको रिङरोड निमार्ण गर्न झण्डै ५ करोड खर्च लाग्ने प्रारम्भिक अनुमान छ । तर, रकम अपुग भएका कारण अहिले ग्राबेलिङ, ढल निमार्ण, कल्भर्ट निमार्ण मात्रै गरिने प्रदेशसभा सदस्य छिन्तुको भनाई छ ।