सभापति देउवाले उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुपर्ने थापाको भनाई
काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुपर्ने बताएका छन्।
आज मङ्गलवार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर पार्टीको संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएपछि नेता थापाले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री देउवाले उम्मेदवारी फिर्ता लिनेमा आफू विश्वस्त रहेको पनि बताए। सभापति देउवाको उम्मेदवारी फिर्ताको निर्णयले सबै नेपाली कांग्रेसमा खुसी र उत्साह हुने उनको भनाइ छ ।
उनले भने , ‘पार्टी सभापति शेरबहादुर देउवाले शान्त मनले मनन गरेर उम्मेदवारी फिर्ता लिने कुरा नेपाली कांग्रेसको जीवनमा एउटा ऐतिहासिक दिन हुनेछ । यसले नेपाली कांग्रेसभित्र एउटा नयाँ उत्साहको तरङ्ग ल्याउनेछ भन्ने विषयमा मनन गर्न आग्रह गर्दछु । आम मतदाताको प्रतिनिधित्व नेपाली कांग्रेसबाट निर्वाचित सांसदले भोलिको चुनावमा गर्नुहुन्छ भन्ने विश्वास व्यक्त गर्दछु ।’
महामन्त्री थापाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि कांग्रेसको भविष्यप्रति चिन्ता गर्न आग्रह गरे । उनले संसदीय दलको चुनाव पार्टीको आन्तरिक चुनाव नभएकाले नागरिकलले खोजेको प्रतिनिधिलाई संसदीय दलमा जिताउन आग्रह गरे। उनले संसदीय दलको नेताको चुनाव नेपाली कांग्रेसको भविष्य र अपेक्षासँग जोडिएको बताए ।