यौन दुर्व्यवहारको आरोप लागेका माओवादी केन्द्रिय सदस्य बजगाईं निलम्बित
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईंमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।
उनले माओवादी केन्द्रकै भ्रातृ संगठन अखिल क्रान्तिकारीमा आवद्ध एक किशोरीलाई सामाजिक संजाल फेसबुकमार्फत अश्लील म्यासेज पठाएको खुलेको छ ।
बजगाईंले पटक–पटक ती किशोरीलाई अश्लील शब्द प्रयोग गरी म्यासेज पठाएको देखिन्छ । अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला कमिटीमा समेत रहेकी ती किशोरीले आफूमाथि दुर्व्यवहार भएकोबारे सुरुमा संगठन र माओवादी केन्द्रको तल्ला समितिमा निवेदन दिएकी थिइन् ।
ती किशोरीको निवदेन माओवादी केन्द्रको बागमती प्रदेश समितिसम्म पुगेपछि बागमती प्रदेश समितिकै सिफारिसमा बजगाईंलाई केन्द्रीय समिति सदस्यबाट समेत निलम्बन गरिएको छ ।
माओवादी केन्द्रको ३ पुसमा बसेको पदाधिकारीको बैठकले उनलाई केन्द्रीय समितिबाट निलम्बन गर्दै छानबिनको जिम्मा केन्द्रीय अनुशासन आयोगलाई दिएको छ ।