नवनिर्वाचित जेष्ठ सदस्य जबरालाई पद तथा गोपनियताको सपथ आज हुँदै

भूगाेल संवाददाता
६ पुष २०७९, बुधबार ११:३९

काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शमशेर जबरालाई पद तथा गोपनीयतको शपथ गराउनुहुने भएको छ ।

 

राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राष्ट्रपतिसमक्ष ज्येष्ठ सदस्य राणाले शपथ लिन लाग्नुभएको हो । नागरिकताको प्रमाणपत्र अनुसार, ज्येष्ठ सदस्य राणाको जन्म विसं १९९८ मङ्सिर २४ गते रहेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।

 

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ । सभामुखको चयन नहुँदाका बखत प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरु सदस्यलाई शपथ दिलाउनुपर्छ । त्याे व्यवस्थाअनुरुप ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा नव निर्वाचित अन्य सदस्यलाई यही पुस ७ गते दिनको १ बजे शपथ गराउनु हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

 

नेपालको संविधानअनुसार सङ्घीय संसद्का सदस्यले सदन वा त्यसको कुनै पनि समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्छ भन्ने व्यवस्था छ ।