‘मतपरिणाम अपेक्षाकृत होईन, म निराश हुन्नँ’ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा संसदीय दलको नेताका उमेदवार गगन थापाले मतपरिणाम अपेक्षाकृत नआएको बताएका छन् ।
बुधबार कांग्रेस संसदीय दलको निर्वाचनमा थापा २५ मत ल्याउँदै सभापति शेरबहादुर देउवासँग पराजित भएका हुन् । उनले आफू परिणामबाट निराश नहुने बताए । नतिजा अनपेक्षित भए पनि स्वाभाविक रूपमा लिने उनको भनाइ छ ।
“मतपरिणाम अपेक्षाकृत होइन । यसबाट थाक्दा पनि थाक्दिनँ । निराश पनि हुन्नँ,” उनले सञ्चारकर्मीसँग भने ।
उनले आफूलाई मत दिनेहरूलाई धन्यवाद पनि दिए । संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेकाले आफू सरकारमा गएर मन्त्री बन्न उपयुक्त नहुने उनले बताए । महामन्त्री र सांसदका रूपमा काम गर्ने उनले उल्लेख गरे ।
आफूले मतदातासँग गरेको वाचा पूरा गरेको पनि उनले बताए ।