नयाँ सरकारमा मन्त्री बन्ने कुरामा आफु नरहेको काँग्रेस महामन्त्री शर्माको स्पष्टोक्ती
काठमाण्डाै । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्ने कुरामा आफू नरहेको स्पष्ट पार्नुभएको छ ।
आज बुधवार काँग्रेस संसदीय दलको नेताको चुनावपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले नयाँ सरकारमा मन्त्री बन्नेतिर आफू नलाग्ने बताउनुभएको हो । उहाँले पार्टी कार्यालयमा बसेर गर्ने आफ्नो कामहरू धेरै भएको बताउनुभयो । सरकारमा जाने पार्टीका नेताहरूलाई घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताअनुसार काम गर्न आग्रह गर्ने कुरामा आफू लाग्ने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘महामन्त्री भएको वर्ष दिन पुग्दैछ । अझै धेरै कुराहरू गर्न बाँकी नै छन् । गर्न नसकिराखिएको, गर्न नभ्याइरहेको कामहरूले मलाई पर्खिरहेको बेला छ अनि विश्वप्रकाश शर्मा तुरुन्तै मन्त्री बन्नेतिर लागेर हुन्छ ? यो उचित हुँदैन, अहिले म मन्त्री बन्ने कुरामा छैन । सरकारमा जाने साथीहरूलाई यो घोषणापत्र बोकेर काम गर्नुहोला है भनेर भन्नु राम्रो । तर अहिले मैले पार्टीको कार्यालयमा बसेर कार्य गर्नुपर्छ । त्यस कारण मन्त्री बन्ने कुरामा तत्कालै विश्वप्रकाश शर्मा लाग्नु हुँदैन ।’
महामन्त्री शर्माले सरकारमा जाने सांसदको संयोजनलगायतका कामहरू अघि बढाउने कुरामा आफू लाग्ने बताउनुभयो ।