खेलाडीमाथि सामाजिक सञ्जालमा भइरहेको ‘रंगभेदी र घृणापूर्ण व्यवहार’प्रति फ्रान्सद्धारा निन्दा

भूगाेल संवाददाता
६ पुष २०७९, बुधबार १३:५२

 

काठमाडौं । खेलाडीमाथि सामाजिक सञ्जालमा भइरहेको ‘रंगभेदी र घृणापूर्ण व्यवहार’को फ्रान्स फुटबल फेडेरेसन (एफएफएफ)ले निन्दा गरेको छ । यसप्रति जिम्मेवार व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ ।

 

गएको आइतबार विश्वकपको फाइनलमा फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो । त्यसअघि, अर्जेन्टिना र फ्रान्सले खेलको निर्धारित ९० मिनेट, इन्ज्युरी समय र अतिरिक्त समयमा ३–३ को बराबरी खेलेका थिए ।

 

 

सो हारपछि फ्रान्सका केही खेलाडीले सामाजिक सञ्जालमार्फत आफूहरूमाथि दुर्व्यवहार भएको बताएका थिए ।

 

सोमबार जर्मन क्लब बायर्न म्युनिखले क्लबका खेलाडी किङ्स्ले कोमनमाथि भएको रंगभेदी दुर्व्यवहारको निन्दा गरेको थियो । कोमनले फाइनल खेलमा फ्रान्सबाट पेनाल्टी चुकाएका थिए ।

 

अहिले एफएफएफले पनि आफ्ना टिमका खेलाडीप्रति भएको दुर्व्यवहारविरुद्ध कारबाहीका लागि उजुरी दर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।