व्यवस्थापकीय समस्या र कर्मचारी अभावले मधेश सरकारले अपेक्षाकृत काम गर्न सकेन : मुख्यमन्त्री राउत

भूगाेल संवाददाता
६ पुष २०७९, बुधबार १४:१६

 

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले व्यवस्थापकीय समस्या र कर्मचारी अभावका कारण मधेस सरकारले अपेक्षाकृत काम गर्न नसकेको दाबी गरेका छन्।

 

आफ्नो पाँच वर्षीय कार्यकालको बारेमा जानकारी दिन आज बुधवार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री राउतले सुरुको धेरै समय व्यवस्थापनमै खर्च भएको र कर्मचारीको अभावका कारण अपेक्षा गरेजस्तो काम गर्न नसकेको बताए । सङ्घीय सरकारले काम गर्ने वातावरण नबनाएको पनि उनले उल्लेख गरे ।

 

मुख्यमन्त्री राउतले सङ्घीयता संस्थागत गर्न मधेस सरकार सफल भएको दाबी गरे। विभिन्न ऐन, कानुन निर्माणदेखि लिएर तीन वटा विश्वविद्यालय स्थापना गरि सञ्चालनमा ल्याउनु आफूहरूको उपलब्धि रहेको उनले बताए ।

 

मधेस प्रदेशमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको बताउँदै उहाँले दलित, उत्पीडित समुदाय को हकमा पनि सरकारले थुप्रै काम गरेको उल्लेख गरे । दलितप्रति कुनै प्रकारको विभेद तथा छुवाछुतको व्यवहार नहोस् भनेर उनीहरूको उत्थानका लागि दलित विकास समिति नै गठन गरेको मुख्यमन्त्री राउतले जानकारी गराए।