‘क्याविन क्रु’ हडतालले निगमको नियमित उडानमा देखिएको अवरोधबारे प्राधिकरणले स्पष्टीकरण सोध्यो
काठमाडौँ । ‘क्याबिन क्रु’ को हडतालका कारण बुधबार र बिहीबार नेपाल वायुसेवा निगमका नियमित उडानमा देखिएको अवरोधमाथि नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।
वायुसेवा कम्पनीहरूको नियामक निकाय प्राधिकरण मातहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्स विभागले निगमलाई उक्त घटना के कारणले भएको हो, विस्तृत अध्ययन गरेर तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनेको हो । ‘प्राधिकरणबाट पारित निगमका नियमित उडानअन्तर्गत बुधबार र बिहीबारका तालिकामा किन अवरोध देखिएको विस्तृत अध्ययनसहित स्पष्टीकरण सोधेका छौं,’ विभागका एक उच्च अधिकारीले भने ।
यसैबीच निगमले क्यबिन क्रुको हडतालका कारण कम्तीमा साढे २ करोड रुपैयाँ क्षति भएको जनाएको छ । दुई दिन उडान अवरोध हुँदा कनेक्टिङ फ्लाइट छुट्न गएका यात्रुलाई निगमकै खर्चमा अन्य वायुसेवाबाट पठाइएको निगम वाणिज्य विभागका एक अधिकृतले बताए । दुई दिनमा कम्तीमा ७५ यात्रुलाई अरू वायुसेवाको विमानबाट पठाउँदा उडान छुट्न गएकालाई होटलमा राख्दा साढे दुई करोड क्षति भएको ती अधिकृतको भनाइ छ ।