खोटाङ बक्सिलाका आगलागी पीडितलाई प्रदेश सरकारले पठायो राहत
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका–४, बक्सिला बजारमा भएको आगलागी पीडित परिवारलाई प्रदेश नम्बर–१ सरकारले राहत सामग्री पठाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आगलागीपीडित परिवारका लागि खाद्यान्न, लत्ताकपडासहितका सामग्री पठाएको हो ।
मन्त्रालयले जनाएअनुसार पीडित परिवारका लागि त्रिपाल १८ थान, कम्मल २७ थान, चामल ४५० केजी, रहरको दाल ४५ केजी र चिनी ४५ केजी पठाइएको छ ।
सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पीडितलाई उचित राहतको व्यवस्था गरिने बताए । प्रदेश–१ मन्त्रिपरिषद्को बैठकले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।
दीपक गुरुङको घरबाट बिजुलीको तार सर्ट भई सुरु भएको आगलागीले बाक्सिला बजार क्षेत्रका पाँच घर जलेको थियो । आगलागीबाट करिब चार करोड ९९ लाख ३३ हजार रुपैयाँबराबरको क्षति भएको जनाइएको छ ।