भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले ६ वटा विधामा  पुरस्कार प्रदान गर्ने

भूगाेल संवाददाता
७ पुष २०७९, बिहीबार ०६:०२

हेटौंडा । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले ६ वटा विधामा  पुरस्कार समर्पण गर्ने भएको छ । प्रतिष्ठानले पुस ९ गते शनिबार हेटौंडामा विशेष समारोहका बीच समाजको विभिन्न क्षेत्रमा योगदानमा पुर्‍याएको साहित्यकार, कलाकार, स्वास्थ्यकर्मीलगायतलाई पुरस्कार प्रदान गरिने भएको हो । प्रतिष्ठानले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गर्दै पुरस्कार बारे जानकारी दिइएको थियो ।

 

प्रतिष्ठानका महासचिव केशवलाल श्रेष्ठले यस वर्ष तुलसीमाया शिवकुमारी सिर्जनशील नारी पुरस्कारबाट मकवानपुरकी साहित्यकार भावना सापकोटालाई प्रदान गरिने बताए । उनलाई नगद १० हजार सहित दोसल्ला ओढाएर सम्मानित गरिने जनाइएको छ । त्यस्तै,  २० हजार नगद राशिको विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार गायक रविन्द्र कुमार चेपाङलाई प्रदान गरिने श्रेष्ठले बताए ।

 

प्रतिष्ठान अध्यक्ष ह्याग्रीव आचार्यका अनुसार त्यस्तै, १५ हजार नगद राशिको चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार बासुदेव गुरागाईं र १० हजार राशी सहितको मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार वेला वैद्य तथा १० हजार राशी सहितको अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार विदुर अधिकारीलाई प्रदान गरिने श्रेष्ठले बताए ।

 

त्यस्तै, ७ हजार पाँचसय नगद राशीको भीम–मथुरा बाल प्रतिभा पुरस्कार सुविज्ञा सुवेदीलाई प्रदान गरिनेछ । प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्यको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रतिष्ठानका निवर्तमान अध्यक्ष उज्वल शर्मा भण्डारी, उपाध्यक्ष विष्णुगोपाल महर्जन, प्रतिष्ठानका सल्लाहकार मुक्तिगोविन्द वैद्य लगायतको उपस्थिती रहेको थियो ।