पाहुनालाई मासु खुवाउने चलनले राष्ट्रिय जनावर डाँफे लोप हुने अवस्थामा

भूगाेल संवाददाता
७ पुष २०७९, बिहीबार १४:५३

बझाङ । बझाङमा डाँफे, कालिज, लाटाेकाेसेराे लगायतका पक्षी तथा जङ्गली जनावरकाे चाेरी सिकार बढ्न थालेकाे छ । बझाङकाे साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, तल्कोट गाउँपालिका, थलारा गाउँपालिका, मष्टा गाउँपालिका, जयपृथ्वी नगरपालिकाका विभिन्न वडाहरुमा चोरी सिकार बढेकाे हाे । यसरी मासुका लागि सिकार गर्दा राष्ट्रिय पक्षी डाँफे भने  लोप हुने अवस्थामा पुगेको छ।

 

सुर्मा, दौलिचौर, रिलु, दहबगर, लेकगाउँ, मेलविसौना, सुनिकोट, कैलाश लगायतका वनक्षेत्रमा भरुवा बन्दुक प्रयोग गरेर र पासो थापेर दैनिक ८ देखि १० वटासम्म डाँफे, कालिज तथा दैनिक १/२ वटाका दरले झारल, बँदेल, घोरल, रतुवा लगायतका जनावर  मार्ने गरेको पाइएको छ ।

 

स्थानीय बजारमा राम्रो दाम र माग भएकाले पक्षी डाँफे, कालिज लगायत जङ्गली जनावर मार्ने क्रम दिनानुदिन बढदै गएको हो । सदरमुकाम लगायतका आसपासका क्षेत्रमा एउटा डाँफे ३ हजार रुपैयाँसम्म बिक्री हुने गरेको पाइएकाे छ । १ हजार ५ सयदेखि १८ सयसम्म गाउँमै बेच्ने गरेको पाइएकाे छ । यस्तै, जङ्गली जनावर झारल, नाउर, रतुवाको मासु प्रतिकेजी १ हजार रुपैयाँदेखि १ हजार ५ सय रुपैयाँसम्म बिक्री हुने गरेको बताइन्छ । कालिज १ हजार ५ सयदेखि २ हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ ।

 

यहाँ उपहार स्वरुप डाँफे, कालिज लगायत पक्षी तथा जङ्गली जनावरको मासु खुवाउने चलन रहेकाे स्थानीय बताउँछन् । सिकार बढ्दै गएपछि प्रशस्त भेटिने डाँफे, कालिज तथा जङ्गली जनावर आज भोलि मुस्किलले भेटिने गरेका छन् । राष्ट्रिय पक्षी डाँफे लाेप हुने अवस्था आउँदा समेत संरक्षणमा स्थानीय सरकारले चासाे देखाएकाे छैन ।