मधेश प्रदेशको नेतृत्वमा दाबी रहन्छ : सिके राउत

भूगाेल संवाददाता
७ पुष २०७९, बिहीबार १५:५८

 

काठमाण्डौ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने बताए । आज बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन्।

 

अध्यक्ष राउतले मधेसमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वाभाविकरूपमा मुख्यमन्त्रीको दाबी रहने बताए । उनले मधेसमा नागरिकको अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको जिकिर गरे।

 

अध्यक्ष राउतले नागरिकमुखी सेवा प्रदान गर्नु पार्टीको मुख्य जिम्मेवारी रहेको भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दा प्राथमिकतामा राख्ने बताए । उनले मधेस प्रदेशमा शिक्षालाई ९५ प्रतिशतभन्दा माथि लैजाने अभियान सञ्चालन गर्ने र स्वास्थ्य संस्थामा सर्वसुलभ सेवा दिने कुरामा लाग्ने उल्लेख गरे। कुनै पनि व्यक्ति स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने कुरामा पार्टी प्रतिबद्ध रहेको र बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने कुरामा आफू लाग्ने उनको भनाइ छ ।