विवादका बीच ‘पठान’को अमेजन प्राइमसँग १०० करोडको सम्झौता

भूगाेल संवाददाता
११ पुष २०७९, सोमबार १२:३१

भारतीय अभिनेता शाहरुख खानको आगामी फिल्म ‘पठान’ले अमेजन प्राइमसँग १ सय करोड भारतीय रुपैयाँको सम्झौता गरेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्मको ओटीटी राइट्स फिल्म रिलिज हुनुअघि नै १ सय करोड भारतीय रुपैयाँमा बिक्रि भइसकेको छ । अमेजन प्राइमले महँगो मूल्यमा फिल्मको ओटीटी राइट्स किनेको हो । फिल्म आगामी मार्चको अन्त्यमा वा अप्रिलको सुरुमा ओटीटीमा रिलिज हुन सक्ने छ ।

फिल्म आगामी २५ जनवरीमा रिलिज हुँदैछ । रिलिज हुनुअघि नै फिल्मको धेरै आलोचना भइरहेको छ । फिल्मको पहिलो गीत ‘बेशरम रंग’ रिलिज हुनासाथ सुरु भएको विवादले निरन्तरता पाइरहेको छ । फिल्मको उक्त गीतमा अभिनेत्री दीपिका पादुकोणले लगाएको बिकिनीको रंगलाई लिएर विवाद सुरू भएको थियो । सोही कारण फिल्मलाई प्रतिबन्ध लगाउन भारतको विभिन्न ठाउँमा माग भइरहेको छ । शाहरुख र दीपिकालगायत फिल्मको टिमविरुद्ध उजुरी दर्ता समेत भएको थियो ।

फिल्मको विरोधीहरूले दीपिकाले लगाएको बिकिनीको रंग भगवा रङ हिन्दू धर्मको प्रतीक भएको भन्दै निकै आपत्तिजनक रहेको बताएका छन् । बिकिनीमा केसरजस्तो पवित्र रङ प्रयोग गर्न नपाइने उनीहरूको भनाइ छ । गीत परिवर्तन नगरे फिल्म रिलिज हुन नदिने समेत बताएका छन् ।

फिल्म करिब २ सय ५० करोड भारतीय रुपैयाँको लगानीमा बनेको निर्माण पक्षले बताएको छ । यसैबीच, फिल्मले रिलिज अगावै राम्रो कमाई गरिरहेको समाचारमा उल्लेख छ । यस अघि रिलिज भएका दुई वटा गीतहरूले निकै राम्रो कमाइ गरिसकेको छ ।