पोखरामा भाेलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

भूगाेल संवाददाता
१२ पुष २०७९, मंगलवार ११:०४

पोखरामा भाेलिदेखि यही १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन सङ्घको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गर्न लागिएकाे हाे ।

प्रतियोगितामा १२  इभेन्टमा प्रतिस्पर्धा हुने सङ्घका अध्यक्ष सुशिलकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा काठमाण्डौ, कन्चनपुर, सुर्खेत, उदयपुर, धादिङ, ललितपुर, भोजपुर, सर्लाही लगायतका २५ जिल्लाबाट तीन सयभन्दा बढी खेलाडीहरु सहभागी हुँदैछन् ।

प्रतियोगिताको खुला पुरुष एकल तथा डबल तर्फको विधामा विजेता खेलाडीको टोलीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी त्यही इभेण्टमा द्वितीय हुनेलाई ३० हजार रुपैयाँ र तृतीय हुनेलाई २० हजार रुपैयाँ नगदको साथमा शिल्ड मेडल  र प्रमाणपत्र वितरण गरिने छ ।

प्रतियोगिता अन्तर्गत महिला एकल तथा डबल, मिक्स डबल, ३५ वर्षमाथिको डबल पुरुष उमेर समूह, ४५ वर्षमाथि डबल पुरुष, ५५ वर्ष  माथि डबल पुरुषतर्फको विधामा विजेता टोलीहरुले जनही ३० हजार रुपैयाँ, उपविजेताले जनही २० हजार र तेश्रो हुनेले जनही १० हजार रुपैयाँको साथमा शिल्ड मेडल  र प्रमाणपत्र पाउने छन् ।

जुनियर खेलाडीहरुको प्रोत्साहन गर्ने उद्देश्यले १२ वर्षमुनिका खेलाडीहरु सहभागी (यु—१२) र १७ वर्ष मुनिका खेलाडीहरु सहभागी (यु—१७) पुरुष तथा महिला तर्फको विधामा प्रतिष्पर्धा हुनेछ । यस इभेण्टमा विजेता खेलाडीले जनही १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेलाई पाँच हजार रुपैयाँ नगदको साथमा शिल्ड मेडल  र प्रमाणपत्र पाउनेछन् ।