लुम्बिनीको लगातार तेस्रो जित

भूगाेल संवाददाता
१२ पुष २०७९, मंगलवार १३:१८

टियु क्रिकेट मैदानमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले लगातार तेस्रो जित हात पारेको छ ।

मंगलबार भएको पहिलो खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गर्दै तेस्रो जित हात पारेको हो ।

जितको लागि १३४ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

लुम्बिनीका लागि कुशल भुर्तेलले ३९, शाडले क्लाउड वैन शाल्कविकले अविजित ३१, उन्मुक्त चन्दले २२, अनिल शाहले १९ तथा गुलसन झाले १० रन बनाए ।

पोखराका लागि विपिन खत्री र कुशल मल्लले २/२ तथा प्रतिश जिशी, अभिमन्यु मिथुन र जाहिर खानले एक/एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो ।

पोखराका लागि कुशल मल्लले ६१, उपुल थरंगाले ४२ रन बनाए । अन्यले दोहारो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीका लागि शाडले क्लाउड वैन शाल्कविकले ३, किशोर महतो र गुलसन झाले २/२ तथा हरमीत सिंह र सागर ढकालले एक/ एक विकेट लिए ।

लुम्बिनी ३ खेलमा ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा कायम रहेको छ । पोखरा ३ खेलमा अंक विहिन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।