डेढ दशकपछि नायिका विपना थापाको नेपाली फिल्ममा ‘कमब्याक’

भूगाेल संवाददाता
१२ पुष २०७९, मंगलवार १४:१४

अभिनेत्री विपना थापालाई दर्शकले पर्दामा नदेखेको १६ वर्ष भइसकेको छ । विवाहपछि उनी चलचित्रमा देखिन छाडेकी थिइन् । डेढ दशकपछि उनले नेपाली फिल्ममा ‘कमब्याक’ गर्ने भएकी छन् ।

 

नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ मा उनी मुख्य भूमिकामा देखिने भएकी हुन् । यो फिल्मलाई नीताले आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भनेकी छन् । विपनालाई फिल्ममा मुख्य भूमिकामा रहनेगरी अनलाइनमार्फत नै सम्झौता भइसकेको निर्माण पक्षले जनाएको छ ।

 

फिल्मको छायांकन नेपालसँगै भारतमा पनि हुने छ र यसमा नेपालीसँग भारतीय कलाकारहरूले समेत अभिनय गर्नेछन् । आगामी फेब्रुअरी १ देखि छायांकन सुरु हुने यो फिल्ममा साउथ इन्डियन फिल्मका सफल कलाकारहरू ब्रह्मानन्दम, सुनिल वर्मा, प्रदीपराज रावत र अली पनि देखिने छन् । बलिउड छायांकार कवीरलालले फिल्मलाई छायांकन गर्नेछन् ।

 

भारतीय नागरिकसँग विवाह गरेकी विपना अचेल भारतका्र मथुरामा बस्दैआएकी छन् । उनले एक छोरालाई जन्म पनि दिएकी छन् । ‘मितिनी’, ‘परदेशी’, ‘माइली’, ‘आफ्नो मान्छे’ लगायत चार दर्जन बढी नेपाली फिल्ममा उनले अभियन गरेकी थिइन् ।