नेपाल टी–२० क्रिकेट लिगमा पोखराको लगातार पाँचौ हार

भूगाेल संवाददाता
१४ पुष २०७९, बिहीबार १२:२४

नेपाल टी–२० क्रिकेट लिगमा पोखरा एभेन्जर्स विराटनगर सुपर किंग्ससँग पराजित भएको छ । आजको खेलमा विराटनगरसँग ८ विकेटले पराजित पोखराको यो लगातार पाँचौ हार हो ।

पोखराले दिएको १ सय ३६ रनको लक्ष्य विराटनगरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो । विराटनगरका रोहित पौडेलले अविजित ७१ रनको अर्धशतक बनाए । गौरान्सु शर्माले ३३ तथा हुसेन तलतले अविजित २८ रन जोडे । पोखराका अमिर हम्जा र जाहिर खानले एक/एक विकेट लिए । त्यसअघि कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । पोखराका अमिर हम्जाले ३७ रन र सुमित महर्जनले २६ रन बनाए । विराटनगरका कप्तान आन्द्रे म्याकार्थीले ३ तथा साहब आलम, राज नानन र नन्दन यादवले एक/एक विकेट लिए । यो जितसँगै विराटनगरले चार खेलमा चार अंक जोडेको छ । विराटनगर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पाँच खेलमा अंकविहीन पोखरा पुछारमा छ ।

आज हुने दोस्रो खेलमा फार वेस्ट युनाईटेड र जनकपुर रोयल्सबीच खेल हुँदैछ । यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । जनकपुरले तीन खेल खेलेकोमा दुई जितका साथ ४ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । फार वेस्टले ३ खेलमा एउटा जितेको छ । फार वेस्ट पाचौँ स्थानमा छ । नेपाल टी–२० लिगका खेल कीर्तिपुर मैदानमा हुँदै आएका छन् । प्रतियोगितामा ६ टोली सहभागी छन् ।