पुलिसका महिला खेलाडीले प्रदेशस्तरीय महिला प्रधानमन्त्री कप क्रिकेट खेल्ने
काठमाडौं । पुस २९ गतेदेखि इटहरीमा हुने महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विभागीय टोली पुलिसमा रहेका महिला खेलाडीले प्रदेशबाट खेल्ने भएका छन् ।
प्रतियोगिताका लागि आवश्यक मापदण्द पूरा नगर्दा विभागीय टोली पुलिसले यस सिजनको प्रधानमन्त्री कप खेल्न नपाउने भएको छ ।
आफूहरु सहभागी नहुने भएपछि खेलाडीलाई प्रदेशबाट खेलाडी रिलिज गरेको नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटुवालले जानकारी दिएका छन् ।
उनले भने, ‘हामीले प्रतियोगितामा भाग लिन नपाउने भए पछि हामीले आइतबार नै खेलाडी रिलिज गरिसकेका छौं । उनीहरुले यस पटकको प्रधानमन्त्री कप प्रदेशबाट नै खेल्नेछन् । अर्को संस्करणमा भने हामी पुलिसबाट नै प्रतिस्पर्धा गर्नेछौं ।’
आयोजक नेपाल क्रिकेट संघ क्यानले पनि खेलाडीलाई प्रदेशबाट खेल्न अनुमति दिएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताए ।