नेपाल टी–ट्वान्टी लिग तत्कालका लागि अन्त्य

भूगाेल संवाददाता
१९ पुष २०७९, मंगलवार ११:१३

नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा उत्पन्न विवाद नेपाल क्रिकेट संघ (क्यान) को पहलमा तत्कालका लागि अन्त्य भएको छ ।

सहमति अनुसारको पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका खेलाडीहरुलाई क्यानले पारिश्रमिकको ग्यारेन्टी गर्ने आश्वासन दिएपछि खेलाडीहरु मैदानमा फर्किएका छन् ।

खेलाडीहरुको आन्दोलनका कारण आज बिहान ९ बजे सुरू हुनुपर्ने काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल दुई घण्टा ढिला पौने ११ बजे सुरू गरिएको छ ।

खेल ढिला सुरू गरिएकाले खेल अवधिलाई नौ ओभरमा झारिएको छ ।

खेलमा टस जितेको काठमाडौंले ब्याटिङ रोजेको छ ।

यसअघि पारिश्रमिक नपाएको भन्दै खेलाडीहरुले टस समेत नगरी आन्दोलनमा उत्रिएका थिए । सहमति अनुसार खेलाडीहरुले प्रतियोगिता सुरू हुनु भन्दा पहिले ४० प्रतिशत र खेल चलिरहँदा ६० प्रतिशत रकम पाउनु पर्ने थियो ।

क्यानले सम्पर्क बाहिर रहेका आयोजक सेभेन थ्री स्पोर्ट्स र अन्य क्लबका मालिकहरुलाई सम्पर्क गरेर पारिश्रमिक दिलाउने प्रतिवद्धता जनाएको बुझिएको छ ।

मंगलाबार दिउँसो जनकपुर रोयल्स र लुम्विनी अलस्टारबीच खेल हुने तालिका रहेको छ ।