महान् फुटबलर पेलेको आज अन्त्येष्टि गरिँदै

भूगाेल संवाददाता
१९ पुष २०७९, मंगलवार ११:३३

महान् फुटबलर पेलेको आज अन्त्येष्टि गरिँदैछ । अन्तिम संस्कारअघि उनको पार्थिव शरीरलाई ब्राजिलको साओपाउलोमा रहेकाे सान्तोस क्लबको रङ्गशालामा राखिएको छ ।

अन्तिम श्रद्धाञ्जली दिन त्यहाँ हजारौँको भिड लागेको छ । पेलेको गएको बिहीवार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पेलेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । अन्तिम संस्कारमा ब्राजिलका राष्ट्रपति लुला डा. सिल्भाको पनि सहभागिता रहनेछ ।

पेलेको वास्तविक नाम एडसन अरान्ते दो नासिमेन्तो हो । पेलेले ब्राजिललाई तीन पटक विश्व कप फुटबलको उपाधि दिलाएका थिए ।