नेपाल टी–२० क्रिकेट लिगमा लुम्बिनीले काठमाण्डौलाई १ सय २ रनले हरायो

भूगाेल संवाददाता
२० पुष २०७९, बुधबार १४:०७

नेपाल टी–२० क्रिकेट लिगमा लुम्बिनी अल स्टारले काठमाण्डौ नाईट्सलाई १ सय २ रनले हराएको छ । लुम्बिनीले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १५ ओभर ४ बलमा ८१ रनमा अलआउट भयो ।

काठमाण्डौमा बसिर अहमदले २२, कमलसिंह ऐरीले १६ तथा कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५ रन बनाए । लुम्बिनीका ह्यारी टेक्टर, कुशल भुर्तेल र इशान पाण्डेले समान २/२ विकेट लिए । कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । लुम्बिनीका हरमित सिंहले अर्धशतक ७० रन बनाए ।

काठमाण्डौका अभिनास बोहोराले ३ तथा बसिर अहमदले २ विकेट लिए । आजको खेल १७ ओभरमा झारिएको थियो । ९ खेलमा ८ वटा जितेको लुम्बिनी १६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । ८ खेलमा ४ वटा जितेको काठमाण्डौ ८ अंकसहित तेस्रो स्थानमा छ ।

आजको दोस्रो खेलमा अहिले फार वेस्ट युनाईटेड र विराटनगर सुपर किंग्स खेल्दैछन् । विराटनगर ७ खेलमा ४ अंकका साथ पाँचौ र ६ खेलमा २ अंकका साथ फार वेस्ट पुछारमा छ । नेपाल टी–२० क्रिकेट लिगका खेल कीर्तिपुर मैदानमा हुँदै आएका छन् ।