हेटौँडामा ‘सोनाम ल्होछार साँस्कृतिक महोत्सब’ हुने

भूगाेल संवाददाता
२१ पुष २०७९, बिहीबार ११:३३

तामाङ समुदायको राष्ट्रिय पर्व २८५९ ह्योईरतावार ल्हो (बिरालो वर्ष) सोनाम ल्होछारको अवसरमा बागमती प्रदेशको राजधानी हेटौँडामा ‘सोनाम ल्होछार साँस्कृतिक महोत्सब’ हुने भएको छ ।

हिजो बुधबार हेटौँडामा पत्रकार सम्मेलन गरी नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुर र मकवानपुर तामाङ कलाकार संघको संयुक्त आयोजनामा आगामी माघ ७ र ८ गते दुई दिन हेटौँडा उपमहानगरपालिका-१० स्थित टिसिएन चौरमा ‘सोनाम ल्होछार साँस्कृतिक महोत्सब’ हुने भएको हो ।

कलाकार संघले ल्होछार साँस्कृतिक कार्यक्रमको मिति तय गरिसकेको थियो, कार्यक्रमलाई अझ बृहत बनाउन जिल्लाको तामाङ घेदुङको टिम सहित विभिन्न जातिय संघसंस्था संग मिलेर महोत्सबको रुपमा संयुक्त गर्ने गरि अघि सारेको कलाकार संघका महासचिब रबिन्द्र थिङले बताउनु भयो ।

दुई दिन सम्म चल्ने महोत्सबमा तामाङको मौलिक भेषभुषा सहित लामा, बोन्पो , ताम्बा, डम्फुरेको झाँक्री प्रदर्शन, भेषभूषा र मौलिक खानाका स्टलहरु रहने आयोजकले जनाएको छ । तामाङको मौलिक संस्कार, संस्कृति, भेषभुषा र भाषाको संरक्षण तथा प्रबर्द्धन गर्दै तामाङ घेदुङ संघिय समितिको भवन खरिद सहयोगार्थ महोत्सबको तयारी गरिएको घेदुङ मकवानपुरको जिल्ला कार्यबहाक अध्यक्ष कालु घलानले बताउनु भयो ।

त्यस्तै, कलाकार संघबाट भाग्यशाली उपहार कार्यक्रम राखेको छ । उपहारमा प्रथम हुनेलाई ४३’ इन्चको टिभि, दित्तीयलाई फ्रिज, तृतीयलाई २५ लिटरको गिजर र सान्त्वना ५ जनालाई हिटर जग रहेको छ। उपहार कार्यक्रम मार्फत उठेको रकम संघको भवन निर्माणमा शुरुवात गर्न खर्च गरिने अध्यक्ष धिरेन लामाले बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ मकवानपुरको कार्यबाहक अध्यक्ष कालु घलान, सचिब आत्माराम मोक्तान, सल्लाहकार जिबनमान मोक्तान, मकवानपुर तामाङ कलाकार संघको अध्यक्ष धिरेन लामा, महासचिब रबिन्द्र थिङ, सल्लाहकार सानु लामा दोङ, तामाङ युवा घेदुङ सघिय प्रशिक्षण बिभाग प्रमुख सबिन मोक्तान, तामाङ घेदुङ हेटौँडा उपमहानगर समितिको अध्यक्ष भिमलाल सिन्तान, नेपाल तामाङ युवा घेदुङ्ग मकवानपुर अध्यक्ष सुनिल लोप्चन लगायतको सहभागी रहेको थियो ।