युभेन्ट्स विजयी हुँदा इन्टर मिलान रोकियो

भूगाेल संवाददाता
२४ पुष २०७९, आईतवार १२:४०

 इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्स विजयी हुँदा इन्टर मिलान भने रोकिएको छ ।

शनिबार राति भएका खेलमा युभेन्ट्सले उडिनेसलाई १–० ले हराएको हो भने इन्टर मिलान मोन्जासँग २–२ को बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सका लागि डानिलोले निर्णायक गोल गरे । उनले खेलको ८६ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।

जितसँगै युभेन्ट्स ३७ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित उडिनेस २५ अंक जोडेर आठौं स्थानमा छ ।

अर्को खेलमा दुईपटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा इन्टर मिलान मोन्जासँग २–२ को बराबरीमा रोकिएको छ ।

इन्टरका लागि माटियो डारमिएन र लोउटारो मार्टिनेजले एक एक गोल गरे । मोन्जाका लागि प्याट्रिक सिउरियाले एक गोल गरे भने एक गोल उपहार पाएको थियो ।

मोन्जामा भएको खेलको १० औं मिनेटमा माटियोले गोल गर्दै इन्टरलाई सुरूवाती अग्रता दिलाएका थिए । त्यसको एक मिनेटपछि नै मोन्जाका प्याट्रिकले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । २२ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई २–१ ले अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा इन्टरका डेन्जेल डमफ्रेजले आत्मघाती गोल गरेपछि खेल २–२ को बराबरीमा सकियो ।

यस बराबरीसँगै इन्टर ३४ अंक जोडेर चौथो स्थानमा छ भने मोन्जा १८ अंक जोडेर १४ औं स्थानमा छ ।