बागमती गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु, जावलाखेल सेमिफाइनलमा प्रवेश
बागमती । मकवानपुरको बागमती गाउँपालिकामा आजबाट पाँचौ बागमती गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । बागमती खेलकुद विकास समितिको आयोजनामा भएको फुटबलको उद्धघाटन प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गरे ।
उद्धघाटन कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले देशमा संघियता, गणतन्त्र आएपछि धेरैभन्दा धेरै खेलकुद प्रतियोगिता आयोजना हुन थालेको बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताले राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा खेलाडी चिनाउन तथा खेलाडी उत्पादन गर्न मद्धत पुगेको बताए । प्रदेश सरकारले खेल क्षेत्रको विकास गर्न महत्वपूर्ण योजना राखेर कार्यक्रम गरिरहेको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथी एवं मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट निर्वाचित प्रेम बहादुर पुलामी (छिन्तु) ले फुटबलको क्षेत्र वृहत रहेको यसले गाउँ, नगर , राष्ट्र र विश्वलाई जोडेको बताए । उनले बागमती गाउँपालिका र गोल्डकपले खेलकुद क्षेत्रको विकास मात्र नभई राष्ट्रलाई किर्तीमानी कायम गर्ने खेलाडी उत्पादन गर्न सकुन भन्दै शुभकामना दिए ।
बागमती खेलकुद विकास समिति अध्यक्ष टिकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष फणिन्द्र कुमार तिमल्सिना, हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बाँनिया, बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री, नेपाली कांग्रेस बागमती गाउँपालिका सभापति भक्त बहादुर राई, नेकपा एमालेका चन्द्र राई, माओवादी केन्द्र गाउँपालिका ईन्चार्ज ज्ञानसागर भोलन लगायतको उपस्थिती रहेको थियो ।
जावलाखेल युथ क्लब सेमिफाइनलमा प्रवेश, आयोजक टिम ५–० गोल अन्तरले पराजित
आइतबारबाट मकवानपुरको बागमती गाउँपालिकामा सुरु भएको पाँचौ बागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा जावलाखेल युथ क्लबले बिजयी सुरुवात गरेको छ । जावलाखेलले आयोजक टिमलाई ५–० गोल अन्तरले पराजित ग¥यो । यो संगै जावलाखेल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हिसुव थपलियाको ह्याट्रिक गोलले जावलाखेललाई सिधैं सेमिफाइनलमा प्रवेश गराउन मद्धत पुग्यो । उनले खेलको दोस्रो हाफको ६५ औं ७० र ७२ औं मिनेटमा गोल गरे । खेलको पहिलो हाफमा सुनिल खड्काले र समिराज थोकरले एक/एक गोल गरे ।
ह्याट्रिक गरेका हिसुब म्यान अफ दि म्याच घोषित भएका छन् । उनले नगद ५ हजारसहित ट्रफी र मेडल प्राप्त गरेका छन् ।
गोल्डकपको सोमबार हुने दोस्रो खेलमा मकवानपुर –११ र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । खेल दिउँसो २ बजे हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता टिमले नगद ८ लाख, उपविजेताले ४ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । माघ ४ गतेसम्म आयोजना हुने प्रतियोगितामा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय गरी १० टिमको सहभागिता रहेको छ ।