दोस्रो चरणको सेलिब्रिटी कार्ड वितरण गर्ने चलचित्र विकास बोर्डको तयारी

भूगाेल संवाददाता
२५ पुष २०७९, सोमबार १२:३८

 

काठमाडौं । चलचित्र विकास बोर्डले दोस्रो चरणको सेलिब्रिटी कार्ड वितरणको तयारी थालेको छ । अध्यक्ष भुवन केसीले सम्बद्ध संघसंस्थालाई पत्र लेख्दै सुझाव समेत मागेका छन् । आज बोलाइएको सल्लाहकार समिति बैठकमा कार्डसहित समसामयिक विषयमा पनि छलफल गर्ने योजना छ ।

 

सेलिब्रिटी कार्ड वितरण गर्ने भन्दै बोर्डले सुझाव मागेपछि चलचित्र निर्माता, प्राविधिक, कलाकार, चलचित्र संघले सुझाव पठाएका छन् । सेलिब्रिटी कार्डबारे बोर्डले सुझाव मागेपछि आफूहरुले जवाफ दिएको कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए ।

 

कार्ड पाउने सेलिब्रिटीलाई पेन्सन र भत्ताको व्यवस्था गर्नुपर्ने, विमानस्थल र सिंहदरबारमा प्रवेशमा सहज हुनुपर्ने र अनुसन्धान गरेर मात्र कार्ड वितरण हुनुपर्ने सुझाव कलाकार संघको छ । अध्यक्ष खड्का स्वयंले पनि २०७३ सालमा सेलिब्रिटी कार्ड लिइसकेका छन् । पहिलो चरणमा कार्ड पाउनेले सात महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआईपी कक्षबाट प्रवेश अनुमति पाएका छन् ।

 

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सेलिब्रिटी कार्ड पाउनेलाई विमानस्थलको भीआईपी कक्ष प्रवेशको अनुमति दिनेबारे राजपत्रमा सूचना प्रकाशन गर्न लगाएका थिए ।

 

निर्माता संघले पनि सेलिब्रिटी कार्डबारे बोर्डलाई सुझाव दिएको छ । अध्यक्ष नवल खड्काका अनुसार सेलिब्रिटी कार्डको नाम बदल्नुपर्ने सुझाव समेत दिइएको छ । ‘सेलिब्रिटी कार्डले प्राविधिकहरुलाई समेट्दैन । यसलाई बदल्नुपर्छ,’ सुझावबारे अध्यक्ष खड्काले भने । कार्ड पाउनेलाई मासिक भत्ता उपलब्ध गराउनुपर्ने, सिंहदरबार र विमानस्थलमा सहज पहुँच दिनुपर्ने सहितका सुझाव पनि निर्माता संघले दिएको छ ।

 

सल्लाहकार समिति सदस्य समेत रहेका कलाकार संघका अध्यक्ष खड्काले सोमबार बेलुका समितिको बैठक बोलाइएको र कार्डसहित समसामयिक विषयमा छलफल हुने जानकारी दिए । यही सन्दर्भमा बोर्डले दोस्रो चरणमा कार्ड पाउने सेलिब्रिटीको नाम गोरखापत्रमा सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ ।