इटालियन अभिनेत्री लोलोब्रिगिडाको निधन

भूगाेल संवाददाता
३ माघ २०७९, मंगलवार १६:५६

इटालियन अभिनेत्री जिना लोलोब्रिगिडाको ९५ वर्षको उमेरमा निधन भएको छ ।

जीनाको निधनले सम्पूर्ण हलिउड उद्योगमा शोकको लहर छाएको छ । जीनाको निधनको जानकारी उनको सहयोगीले दिएका हुन् । यद्यपी उनको निधन के कारणले भएको हो भन्ने खुल्न सकेको छैन ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गत वर्ष सेप्टेम्बर २०२१ मा जीनाको तिघ्राको हड्डी भाँचिएको थियो । त्यसलाई ठीक गर्न शल्यक्रिया गर्नुपरेको थियो । जीना ५० र ६० को दशककी सुपरस्टार थिइन् । उनलाई सबैले मायाले ‘लोलो’ भन्ने गर्थे ।

जिनालाई संसारकै सबैभन्दा सुन्दर महिला पनि भन्ने गरिन्थ्यो । जीनाले आफ्नो करियर मोडलको रुपमा सुरु गरेकी थिइन् । त्यसपछि उनले फिल्म उद्योगमा प्रवेश गरिन् । उनले ‘कम सेप्टेम्बर’, ‘ट्रापेज’, ‘बीट द डेभिल’, ‘बुना सेरा’, ‘मिसेस क्याम्पबेल’, आदि जस्ता चर्चित फिल्महरूमा काम गरेकी थिइन् ।

तर, पछि जब जीनाका फिल्महरू फ्लप हुन थाले, उनी फोटो पत्रकार भइन् र यसमा पनि उनले सफलता पाएकी थिइन् ।