२४ लाख गायत्री मन्त्र जपेर अभिनेता बनेका थिए गोविन्दा

भूगाेल संवाददाता
१५ माघ २०७९, आईतवार १२:३९

भारतीय अभिनेता गोविन्दाले अभिनेता बन्न २४ लाख गायत्री मन्त्रको जप गरेको खुलासा भएको छ ।

गोविन्दाले आफ्नो स्टारडमले सबैलाई चकित पारेका छन् । कुनै समय थियो जब गोविन्दाको नाममा मात्रै फिल्म सुपरहिट हुन्थ्यो । यति मात्र होइन, ठूला कलाकारहरू गोविन्दासँग आफ्नो फिल्म रिलिज गर्न डराउँथे । गोविन्दाले सन् १९८६ मा फिल्म ‘इलजाम’ बाट आफ्नो करियर सुरु गरेका थिए । यसपछि उनी १९८६ मा नै फिल्म ‘लभ ८६’ मा देखा परे । गोविन्दाका यी दुवै फिल्म बक्स अफिसमा सुपरहिट भएका थिए ।

भारतीय सञ्चार माध्यमका अनुसार सन् १९९२ को फिल्म ‘रोम-कम’ र ‘शोला और शबनम’ बाट गोविन्दालाई कमेडीको राजाको उपाधि दिइएको थियो । आफ्नो करियरमा १६५ भन्दा बढी फिल्मका काम गरेका गोविन्दाले सानै उमेरमा ठूलो सफलता पाए । उनले आफ्नो सफलताको श्रेय सधै आफ्नी आमालाई दिने गरेका छन् ।

भारतीय सञ्चार माध्यमसँगको एक अन्तर्वार्ताको क्रममा गोविन्दाले १४ वर्षको उमेरमा २४ लाख गायत्री मन्त्रको जप गरेको बताएका छन् ।

गोविन्दाले २२ वर्षको उमेरमा ५० फिल्म साइन गरेका थिए । भारतीय फिल्म उद्योगमा यस्तो आज सम्म भएको छैन । यति धेरै फिल्म साइन गरेपछि गोविन्दाको बारेमा एउटा पत्रिकामा कभर स्टोरी प्रकाशित गरेको थियो । जसमा उनलाई सुनको अण्डा दिने कुखुराको रूपमा वर्णन गरिएको थियो ।