


काठमाडौं । कम्युनिस्ट सरकारले स्पष्टीकरण सोधपछि नेपाल चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छन् । पौडेलले माघ २३ गतेबाट लागू हुनेगरी माननीय सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटासमक्ष राजीनामा पेश गरेकी हुन् ।
उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो राजीनामा माघ २३ गतेदेखि लागु हुने समेत जानकारी गराएकी छन् । ‘व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपारेस् भनी मैले यो निर्णय लिएकी हुँ,’ उनले फेसबुकमा लेखेकी छन् ।
पौडेल २०७४ मंसिर २५ गते बोर्डको अध्यक्षमा नियुक्त भएकी थिइन् । कम्युनिस्ट सरकारले पौडेलसँग स्पष्टीकरण सोधेको थियो । गत आइतबार मन्त्रालयको एक आन्तरिक बैठकमा बोर्ड अध्यक्ष पौडेल अनुपस्थित भएपछि मन्त्री बास्कोटाले कारबाही गर्ने चेतावनी दिएका थिए ।
सोही कारणले कारबाहीमा पर्नुभन्दा अगाडि राजीनामा दिएको स्रोत बताउँछ । केही दिनअघि मात्र निकिताले सञ्चारकर्मी तथा पत्रकार रवि लामिछानेसँग अदालती प्रक्रियाबाट वैवाहिक सम्बन्ध गाँसेकी थिइन् ।
२०७५ माघ २२ गते प्रकाशित