News Portal

विश्व पानी दिवसः ‘वाटर टावर’ नेपालमा कहिले पुग्ला सबैमा पानीको पहुँच ?

भूगोल संवाददाता
६७ पटक

‘पानीको पहँचबाट कोही टाढा नरहुँन’ भन्ने नारासाथ मनाइँदै विश्व पानी दिवसले दिगो विकासको मूल आधार पानी हो भन्ने मान्यता स्थापित गरेको छ। प्रकृतिले निःशुल्क दिएको सबैभन्दा महत्त्वपूर्ण उपहार हो पानी। पानीबिना न सृष्टि सम्भव छ न मानव संरचना नै। प्राणी, वनस्पति सबै नै पानीका सिर्जना हुन्। पानी छ र जीवन छ । जैविक विविधताको आधार र जीवन चक्रको सञ्चालक पनि पानी नै हो। पानीको उपलब्धता हुँदासम्म यसलाई त्यति महत्त्व दिइएन। एक शताव्दीअघिसम्म मानिस थोरै थिए, आवश्यकता र उपयोग क्षेत्र पनि कम थिए, बनजंगल र जलाधार पनि सुरक्षित थिए। जलचक्र प्रणाली व्यवस्थित थियो। सन्तुलित जलचक्रका कारण पारिस्थितिक प्रणाली र जैविक विविधता सुरक्षित एवम् गतिशील थिए। पछिल्ला दिनमा बढ्दो जनचाप, अविवेकशील विकास, अतिक्रमित जलाधार, प्राकृतिक स्रोतको अन्धाधुन्ध दोहन, जस्ता कारण जैविक विविधता र पारिस्थितिक प्रणालीमाथि प्रतिकूल असर देखिँदै आएको छ ।

पृथ्वीमा उपलब्ध पानीको २.५ प्रतिशतमात्र पिउनयोग्य छ, जसको ६७ प्रतिशत ग्रीनल्याण्ड र अन्टार्कटिकामा बरफको रूपमा जमेर रहेको छ। बाँकी ३३ प्रतिशतमात्र पिउनयोग्य छ, जसको ८५ प्रतिशत सिँचाइमा, ६ प्रतिशत घरायसी सफाइ र ४ प्रतिशत औद्योगिक कार्यमा उपयोग हुँदै आएकोले ५ प्रतिशतमात्र पिउन उपलब्ध छ। यस यथार्थले पानी निकै दुर्लभ बस्तु हो।

विश्वका साढे सात अर्ब मानिसमा दशमध्ये तीन स्वच्छ पिउनेपानीबाट वञ्चित छन्, ६ सरसफाइबाट टाढा छन्। अहिले पनि ८९ करोड २० लाख जति मानिस खुलाक्षेत्रमा दिशा गर्दछन्। दुई अर्ब ४० करोड शौचालय विहीन छन्। करिब ४० प्रतिशत मानिस पानीको तनावमा छन्, ८० प्रतिशत तनावभार महिलामा छ। एक अर्ब ७० करोड मानिस नदी बेसिनमा सुरक्षित बसोबास गरिरहेकाले कुनै पनि समय पानीजन्य प्रकोप सामना गर्नुपर्ने जोखिममा छन्। सहर बजार र बस्तीबाट निस्पादित फोहरमध्ये ८० प्रतिशत बिना शुद्धीकरण सिधै नदीमा मिसाइन्छ, जसका कारण नदी इकोसिस्टम बिग्रिएको छ। फोहर पानीका कारण प्रतिदिन एक हजार बालबालिका मृत्युमा पुग्छन्। ७० प्रतिशत प्रकोप र महामारीको कारण पानी हो। विग्रदो पानी प्रणालीका कारण उत्पादन र जनस्वास्थ्य बिग्रेको छ। शताब्दीका तीन सबैभन्दा जल्दाबल्दा सवाल खाद्य असुरक्षा, जलवायु परिवर्तन र पानी तनावमा अघिल्ला दुईलाई पछिल्लोले हाँक दिइरहेको छ। परिणामतः नीति निर्माता, वातावरणविद् र मानवतावादीहरू निकै पिरोलिएका छन् कि जीवन प्रणाली र मानव सभ्यता कसरी सुरक्षित र दिगो बनाउनेरु

विश्व पानी प्रतिवेदनले ‘पानीको पहुँचबाट कोही नछुटुन’ (लिभिङ नो वन बिहाइण्ड) भन्नुको मतलब पानीको पहुँच नैसर्गिक मानव अधिकार हो भन्ने ध्यानाकर्षण पनि हो। पानी र सरसफाइ सम्बन्धी विश्व विश्लेषण प्रतिवेदन (ग्लास) का अनुसार २ अर्ब ४० करोड मानिस पानी अधिकारबाट प्रत्यक्ष वञ्चित रहेकोले पानीलाई पहिला सोच्न राष्ट्र राज्यहरूलाई घच्घच्याएको छ। जहाँ रहे पनि पनि पानी पहिलो हो। जे गर्दा पनि पानी पहिलो हो। त्यसैले घर परिवार, समुदाय, राष्ट्र हुँदै विश्व तहसम्मका नीति कार्यक्रममा पानी पहिलो प्राथमिकताको विषय हो। पानी औपचारिकता र खेलाँचीको विषय यो हुनु हुँदैन। किनकी पानी जिन्दगानी हो। सन् २००३ देखि पानीको यही महत्त्वलाई विश्व पानी प्रतिवेदनले आँैल्याउँदै आएको छ। पानीलाई पहिलो बनाउनु नागरिक कर्तव्य र सार्वजनिक दायित्व हो। तब मात्र हामीले चाहेजस्तो विश्व युगाँैयुग पर्यन्त रहन्छ।

अहिले सर्वत्र दिगो विकासको चर्चा छ। पृथ्वी, मानिस र समृद्धिको साझा कार्यसूची दिगो विकास लक्ष्यले पानीलाई सर्वव्यापी मानव अधिकारको विषय मानेको छ। दिगो विकास एजेण्डाले बढ्दो असमानता न्यूनीकरण, वातावरण सन्तुलन, प्राकृतिक स्रोतको व्यवस्थित उपयोग, जलवायु परिवर्तन न्यूनीकरण जस्ता विषयमा साझा कार्यप्रतिवद्धता जाहेर गरेको छ। यिनै हाम्रा जीवनका सबैभन्दा ठूला चुनौती पनि हुन्, जसलाई सम्बोधन गरेर नै स्वच्छ, सुसांस्कृत, सुरक्षित र समृद्ध मानव सभ्यता संस्थागत गर्न सकिन्छ। किनकी स्वच्छ पानी मानव जीवनको सबै आयाम र दिगो विकासको आधार हो। त्यसैले लक्ष्य नं ६ एकल नभएर अन्तरसम्बन्धित विषय हो। अरू लक्ष्य पूरा गर्न पनि यसले भूमिका खेल्दछ। जस्तो कि गरिबी निवारण, स्वास्थ्य सुविधा, कृषि उत्पादन, ऊर्जा, जैविक विविधता लगायतका क्षेत्रहरुमा पानीले आधार शर्तका रूपमा कार्य गर्दछ। समाज, विकास र वातावरणबीच संयोजित अन्तरसम्बन्धको सूत्र पानी बन्नु पर्दछ। जलवायु परिवर्तनको असर पानीमार्फत् देखिँदै आएको छ। जलवायु परिवर्तनका कारण पानीको उपलब्धता घटेको छ, वितरण र वर्षामा असमानता देखिएको छ। जलाधार मासिएकाले पहिरो र प्रकोप बढेको छ। सबैभन्दा डरलाग्दो पक्ष मनसुनको प्रकृति बदलिएको र यसले उत्पादन प्रणालीमाथि गम्भीर सङ्कट ल्याउँदैछ, जसले समुदाय, राष्ट्र र विश्वलाई नै गम्भीर चुनौती दिएको छ। जलवायु परिवर्तनको असर घटाउने र अनुकूलन बढाउने नीति मागको दरिलो पक्ष पानी तथा जलाधारको दिगो व्यवस्थापन हो।

पानी पैसा र प्रविधिसँग मात्र सम्बन्धित छैन, धनी तथा गरिब सबै मुलुक समान चुनौतीमा छन्। किनकी प्रकृति सबैका लागि बराबर हो। सबैका लागि पानीमाथि समान आवश्यकता छ। समान अधिकार छ। कुनै समाज तत्कालको चुनौतीमा होला, कुनै केही पछि चुनौतीमा। सबैको लागि यो मौन सङ्कट हो र सधैका लागि समाधान गर्नैपर्ने विषय हो। त्यसैले दिगो विकास लक्ष्यले पानीसम्बन्धी सरोकारका सबै विषयलाई समेटेको छ।

यसले

क. पानीको सर्वसुलभ पहँच

ख. सरसफाइको सर्वसुलभ पहुँच र खुला दिशामुक्त समाज

ग. पानीको गुणस्तर सुधार

घ. पानीको दक्षतामूलक उपयोग

ङ. पानी इकोसिस्टम ९सिमसार, नदी तथा पहाडी जलाधार को सुरक्षा

च. ससहयोग र क्षमता विकास र सरोकारवाला समुदायको सहभागिता सहायक लक्ष्यलाई उल्लेख गरेको छ।

स्वच्छ पानीको उपलब्धताका दृष्टिकोणमा हामी विश्वका अन्य मुलुकभन्दा भाग्यमानी छौँ। ६ हजारभन्दा बढी हिमनदी बा¥है महिना बगिरहन्छन्, जसमा पानीको कुल परिमाण दुई खर्ब, ३१ अर्ब घनमिटर रहेको अनुमान छ। यस दृष्टिकोणले नेपालका हिमपहाड हिन्दकुश क्षेत्रकै पानी भण्डार (वाटर टावर) कहलिन्छन्। विडम्बना अहिले पनि ८७ प्रतिशत जनसंख्यामा मात्र खानेपानी पूर्वाधारको पहुँच पुगेको छ। जसमध्ये ४९.५ प्रतिशत पाइप संरचनामात्र पानी आपूर्ति गरिरहेका छन् । कुल जनसंख्यामध्ये ८२.५२ ले असुरक्षित पानी उपयोग गरिरहेका छन्। ८५ प्रतिशत सर्वसाधारणमा सामान्य सरसफाइ पहुँच छ भने ६७।६ प्रतिशतमा मात्र आफ्नै शौचालय छ। सहर बजारका पनि केवल ३० प्रतिशत घरहरू ढलसेवामा आबद्ध छन्। तर ढलको शुद्धीकरण र निस्पादन प्रणाली नभएकाले नदीको जैविक प्रणाली गम्भीर खतरामा छन्। यसले मानव जनस्वास्थ्यलाई सिधै चुनौती दिइरहेको छ।

पानीको मूल सुक्नाले पहाडबाट तलतिर बसाइ सर्ने प्रवृत्ति बढेको छ। अर्को शताब्दीमा पुग्दा ठूला नदीमा एक चौथाइ पानी परिमाण घट्ने आशंका छ। तर हामीले स्वच्छ वातावरण (धारा ३०), स्वास्थ्य (धारा ३५) र उपभोक्ताको हक (धारा ४४) लाई संविधानमा उल्लेख गरी स्वच्छ पानी र सरसफाइलाई मौलिक हकमा स्थापित गरेको छाँै भने सन् २०३० सम्म सबैलाई आधारभूत तहको स्वच्छ पिउने पानी र सुधारिएको सरसफाइसेवामा समेट्ने प्रतिबद्धता व्यक्त गरेका छाँै। जुन निकै चुनौतीपूर्ण देखिएको छ।

पानीको यस स्रोतलाई व्यवस्थित संरक्षण र उपयोग गरेर नै हाम्रो र भावी पुस्ताको आवश्यकता पूरा गर्न सकिन्छ। हाम्रो कर्तव्य हाम्रो पुस्तामात्र सुरक्षित रहने नभै आउने पुस्ताका लागि सुरक्षित वातावरण र सुविधायुक्त सेवासहितको प्रणाली हस्तान्तरण गर्ने पनि हो। हाम्रो कर्तव्य मानव स्वास्थ्य र सुविधामा मात्र केन्द्रित हुने होइन, अन्य जैविक वंशअनुवंश र जातिप्रजतीको पनि सुरक्षा गर्नु हो। किनकी मानवीय आवश्यकताको दिगो पूर्तिका लागि बनजंगल, जलाधार र जैविक विविधता सुंक्षरण अति नै आवश्यक छ। मानव सभ्यताका लागि प्राणी तथा वनस्पतिको दिगो अन्तरसम्बन्ध कायम राख्नु आवश्यक छ, जसको केन्द्रमा पानी रहन्छ। मानव सभ्यता नदी किनारमा नै विकास भएको थियो। किनकी त्यहाँ प्राणी र वनस्पतिको अन्तरसम्बन्ध सहज थियो र, मानिसले त्यसबाट आफूलाई चाहिने सेवा लिन सक्थ्यो। यसर्थ विश्व पानी दिवसका दिन सबै तहका सरकार, नागरिक, समुदाय र नीतिविद्लाई आ–आफ्नो कर्तव्य बुझेर आफैँप्रति, आफ्नो भविष्य र आउँदो पुस्ताका लागि पानी व्यवस्थापनमा संवेदनशील हुन एक पटक फेरि घचघच्याएको छ। किनकी पानी पहिलो हो जीवनका लागि। आ–आफ्नो कत्र्तव्यबाट हामी कोही विचलित हुन पाउँदैनौँ।

२०७५ चैत ८ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...