News Portal

  • हाम्रो आफ्नै जनसत्ता छ कर नबुझाउनेलाई कारबाही गर्छौ

    नेकपा इन्चार्ज ज्वाला

    भूगोल संवाददाता
    १०९ पटक

    अर्धभूमिगत रुपमा सञ्चालन भइरहेको विप्पलव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यही मंसिर ८ गते काठमाडौंमा खुल्ला जनसभाको आयोजना गर्ने घोषणा गरेको छ । सरकारले नेकपाका नेतालाई व्यापक धरपकड गरेपछि पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहति जिल्ला तहका नेताहरुपनि सार्वजनिक रुपमा भेटिदैनन् । सरकारले वार्ताको आव्हान गरेसँगै नेकपाले काठमाडौंमा शक्ति प्रर्दशन मार्फत् पार्टीको धारणा सार्वजनिक गर्दैछ । गोप्य रुपमै भएपनि अहिले सभाको तयारीमा जिल्लाजिल्लामा नेता तथा कार्यकर्ता खटिएका छन् । पार्टीले घोषण गरेको जनसभा र पार्टीको क्रियाकलाप, भावी योजना, सरकारप्रतिको धारणालगायतका विषयमा नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका इन्चार्ज वीरबहादुर घलान (ज्वाला) सँग भूगोल न्यूजका सम्पादक ध्रुव अधिकारीले गरेको कुराकानी ।

    १) नेपाल कम्युनिष्ट पार्टी (विप्लव नेतृत्व) को अहिले के–के अभियान सञ्चालन भइरहेका छन् ?
    हामी एउट विचार, दृष्टिकोण, राष्ट्रियता, जनजिविका सबैलाई एकमुष्ट हल गर्ने भनेर हिँडिरहेका छौँ । यो अन्तर्गत् हामीले विभिन्न चरणको अभियान अन्तर्गत पछिल्लो चाहिँ हामीले मंसिर ८ गते पार्टी पुर्नस्थापना दिवस, र त्यसमा जनसभा गर्ने भन्ने छ । त्यसैमा लागिराछौँ ।

    २) पार्टीको पुर्नस्थापना दिवस मनाउने भन्नुभयो तपाईहरु भूमिगत रुपमा पार्टी सञ्चालन गरिरहनु भएको छ । सरकारले तपाईहरुलाई धरपकड, गर्ने पक्राउ गर्ने काम गरिरहेको अवस्थामा काठमाडौंमा खुल्ला सभा चाहिँ सम्भव छ ?
    हामी भूमिगत पनि छैनौं, गोप्य पनि छैनौँ । हामी जनताको बीचमा छौँ । हामी यही समाजमा छौँ । यही समाजको विकृती, विसंगती भ्रष्टाचार अन्याय अत्याचारको विरुद्धमा हामी लडिरहेका छौँ । र यसो हुँदा यो देशको सामाजिक पुँजिवादी सरकारले हामीप्रति जुन किसिमको व्यवहार गरिरहेको छ । यो उनीहरुले भन्दै आएको लोकातान्त्रिक मान्यता विपरीत पनि छ । हामीले शान्तिपूर्ण आन्दोलन, शान्तिपूर्ण सभा, शान्तिपूर्ण नारा जुलुस, शान्तिपूर्ण भित्ते लेखन गर्दा, उनीहरुले हामीलाई प्रतिबन्ध जस्तो, संकटकाल झल्कने खालको व्यवहार गरेर नेता कार्यकर्तालाई दुःख दिइरहेको छ । यो प्रति हाम्रो पार्टीले घोर भत्सर्ना गर्दै आइरहेको छ । हामी जनताका बीचमा हुँदा, कसरी कहाँकहाँबाट जान्छ भन्ने होइन । त्यो कार्यक्रम चाहिँ जनताको बीचमा , जनता लगेर गर्छौ । हाम्रो सन्देश जनतालाई दिनको निम्ति, र पार्टी पुर्नस्थापना दिवसलाई पनि सफल बनाउनको लागि, हाम्रो पार्टी कस्तो बनाउने ? हामीले कस्तो नीति लिने भन्नका लागि काठमाडौमै खुल्ला सभा आयोजना गरिएको हो ।

    ३) अहिले सरकारले वार्ताको आव्हान गरेको छ । नेकपा र सरकार बीच वार्ता भएको छ कि छैन ?
    वार्ता त सरकारको नाटक मात्र हो । हामी विरुद्धको एउटा षड्यन्त्र पनि हो । योजनाहरु असफल भएपछि, हाम्रा प्रवक्तालाई समातिसकेपछि आत्मसमर्पण गरेर संसदीय व्यवस्थामा आउँछ भन्ने उनीहरुको बुझाइ थियो । तर यो घटनाले झन् देशै ध्रुवीकृत भयो । मानव अधिकारवादी, वकिल, बुद्धिजीवी नगारिक समाजले विरोध गर्न थालेपछि, पछिल्लो समय सदन र सडकमा विरोध हुन थालेपछि सरकारको नाटक फेल भयो । हाम्रो नेताहरुलाई छोड्नुपर्ने बाध्यता आएपछि कसरी छोड्ने भन्ने सरकारले नाटक गरेको जस्तो लाग्छ ।
    अर्को चाहिँ, वार्ता भनेको आधिकारिक पत्र आउनुपर्यो । वार्ता के–को निम्ति ? वैज्ञानिक समाजवाद आउँछ त्यो वार्ताले ? हामीलाई एमालेमा विलय भएको माओवादी केन्द्र जस्तो बनाउन खोजेको भए त्यो वार्ता हुँदैन । त्यो वार्ताको सार्थक हुन सक्दैन । यो वार्ताले सुकुम्वासीको समस्या हल हुन सक्छ ? राष्ट्रियताको समस्या हल हुन सक्छ ? सीमा समस्या हल हुन सक्छ ? असमान सन्धीहरु खारेज हुन सक्छ त ? यो कुनै तर्क छैन, ऐजेण्डा छैन । वार्ता के–का लागि ? यो षड्यन्त्र मात्र हो ।

    ४) भनेपछि राज्यले साँच्चिकै वार्ताका लागि आव्हान गर्यो नेकपा जाँदैन भन्न खोज्नु भएको हो ?
    वार्ताले जसरी जनयुद्धलाई ध्वस्त बनायो, जनमुक्ति सेनालाई ध्वस्त बनायो, जनसक्तालाई ध्वस्त बनायो, र जनअदालतलाई पनि ध्वस्त बनायो । सामन्तको जमिनहरु फिर्ता गर्ने, दलाल पुजिँवादहरुलाई प्रोत्साहन मिल्ने खालको एउटा वातावरण बन्यो । त्यो क्रियाकलापलाई दाहोर्याउन किसिमले सरकारले सोचेको रहेछ । हामीलाई आधिकारिक पत्र नआउने, यो त वास्तवमा नाटक मात्रै, या स्वाङ पारेको , अलमल गरेको बाहेक अरु बुझ्न गाह्रो छैन । हामीले उठाएका माग पुरा हुन्छ भने मात्र वार्ता हुन्छ ।

    ५) हिजो तपाइँहरुलाई देश परिवर्तनको आन्दोलनमा लगाउने नेतृत्वहरु अहिले सत्तामा छन् । त्यहीबाट अलग भएर तपाइँहरु देशको मुहार परिवर्तन भएन भनेर फेरि अर्को क्रान्तिको आव्हान गरिरहनु भएको छ । देशमा फेरि अर्को क्रान्ति आवश्यक छ र ?
    यो कुरा बुझ्न गाह्रो छैन । एउटा त जनयुद्ध सुरु गर्ने बेलामा, नेकपा माओवादी संचालन गर्ने बेलामा त्यसको प्रस्तावना के थियो भने दुश्मनको रुपमा या हाम्रो निशानाको रुपमा २ वटा चिजलाई निर्धारण गरेको थियो । एउटा राजतन्त्र र संसदवादी व्यवस्था । दुवै हाम्रो निम्ति दुश्मन हुन् । जनता र राष्ट्रियताको निम्ति पनि दुश्मन हुन् । हाम्रो निशाना यतापटि हुनुपर्छ भन्ने हिसाबले हाम्रो प्रस्तावना थियो । राजतन्त्र समाप्त भएपिछ दलाल पुजिँवाद आयो । त्यो संसदीय व्यवस्थामामा हामी जाने कुरो थिएन । त्यहाँ प्रचण्ड, बाबुरामहरु बिलिन हुनु भयो । हामीले त्यहाँबाट बिद्रोह गरेका हौं । हाम्रो पार्टीले बिद्रोह गर्यो । उनीहरुले बाटो बिराएर । अहिले वास्तवमा धोका भएको छ । एउटा गद्दारी भएको छ । राष्ट्रप्रति, जनताप्रति धोका भएको छ । वास्तवमा हामीले त्यस्तो सोचेका छैनौँ । महान शहिदहरुले रगत त्यसको निम्ति बगाएको होइन । र कार्यकर्ताको त्याग, तपस्या, बलिदान र आम मान्छेले त्यो भनेर जनयुद्धलाई सपोर्ट गरेकै थिएन । उहाँहरु बाटो बिराएर गएपछि यो समस्या आएको छ । आज भ्रष्टाचारी बढ्नु, कालाबजारी बढ्नु, कमिशन बढ्नु यो सबै समस्या उहाँहरु प्रति नै जान्छ । हामीले त त्यसको निम्ति बिद्रोह गरेर आफ्नो पार्टी बनाउने, र राष्ट्रियता र जनजीवीकालाई हल गर्ने किसिमले चाहिँ तयारी गरिरहेका छौँ ।

    ६) फेरि देशमा क्रान्ति गरेर मुलुकमा परिवर्तन कसरी सम्भव छ ? नेकपाले बनाएको योजनाले सहज र सरल रुपमा जनताको मुहारमा परिवर्तन आउँछ ?
    जनताले अहिले बुझेका छन् । जनता हाममिा कति लाग्छन् भन्ने कुरा चाहिँ प्रक्रियारत् रुपमा अगाडि बढ्ला । जनता निराशा पनि छन् । जुन व्यवस्था आएपनि यस्तै हुन्छ कि भन्नेमा आतंकित पनि छन्, ससंकित पनि छन् । त्यो भ्रमलाई हामीले चिर्नु पर्छ । त्यो भ्रम चाहिँ, पछिल्लो चरणमा यो दलाल सरकार र त्यसका पार्टीहरुले अलि भ्रामक बनाएको छ । हिजो चाहिँ जनयुद्धका नायक भन्ने प्रचण्ड, निरन्तर हाम्रो पार्टीप्रति उनले चाहिँ राजनीतिक तत्व, कुतत्व, आतंककारी गतिविधि गर्ने जस्ता कुराहरुले पनि अलिकति जनतालाई भ्रम परिरहेको हुन सक्छ । तर ,त्यो भ्रम केही पनि होइन । विस्तारै जनताले बुझ्छ । र हामी हाम्रो क्रियाकलाप र राजनीतिक घटनाहरुले त्यो चिर्दै अगाडि बढिरहेका छौं । अर्को , जहाँ अभाव छन् जहाँ समस्या छ । त्यो बीचमा क्रान्ती जरुर हुन्छ । त्यो क्रान्ति आवश्यक पनि छ । त्यो क्रान्ति , हाम्रो भन्दा परिवर्तनको निम्ति, देशको मुहार फेर्नको लागि, आम नागरिकलाई विकास गर्नको निम्ति त्यो क्रान्ति आवश्यक छ । हामि जनताको बीचमा हामी जित्छौँ । सबैलाई मुक्ति दिने, सबैको जिम्मा हामी लिन्छौँ भनेरे जनतालाई भनेका छौँ । जनता संगठित पनि भएको छ पछिल्लो चरणमा ।

    ७) तल्लो तहमा बसेर काम गरिरहनु भएको छ । तपाईँहरुको पार्टीप्रति जनताको कस्तो खालको धारण पाउनु भाएको छ ? जनताले तपाईंहरुलाई किन विश्वास गर्ने ?
    जनताले हामीलाई फुल सपोर्ट गरेका छन् । जनताको सपोर्ट नभएको भए, सरकारले पुरै शक्ति लगाएर, करोडौँ खर्च गरेर हाम्रो नेता कार्यकर्तालाई किन खोज्नु पर्यो । यो ब्रम्हलुट नै गर्यो । जनताले तिरेको करको दुरुपयोग गर्यो । र पुरै शक्ति लगाउँदा पनि हाम्रा पुरै नेता कार्यकर्ता समातेन नि त ? समातेको पनि छुटाउनु पर्यो नि त ? जनताको चाहिँ हामीलाई सपोर्ट छ , राम्रो सम्बन्ध र नङ र मासुको सम्बन्ध छ । हामी यो प्रक्रिया भएपछि जनताकै माझमा छौँ । भूमिगत छैनौँ ।

    ८) सरकारले तपार्इँहरु हिंसात्मक गतिविधिमा, चन्दा असुली गर्ने क्रियाकलापमा सक्रिय छ भन्ने आरोप लगाएको छ नि ?
    यो देश लुट्ने नेताहरुको मोाटमोटी व्यक्तिगत रुपमा हेर्न हो भने पनि शेरबहादुर देउवाको ४५ सय करोड, प्रचण्डको २५ सय करोड, केपीको १५ सय करोड छ भन्ने सुनियो । मिडिया मार्फत्बाट, सामाजिक सञ्जाल मार्फत् । यसो हेर्दा उनीहरुको पैसा कहाँबाट आउँछ त ? उनीहरुले देश लुट्ने, सिमा बेच्ने, नदी बेच्ने, हाम्रा युवाहरुलाई बेच्ने, देशलाई कंगाल बनाउने । उनीहरुले लुटिरहेको छ । यो व्यवस्था ठीक छैन, भन्ने अभियानमा जाँदा हामीले सहयोग लिएका छौ । तर, हामीले उहाँहरुलाई जर्बजस्ती गर्ने हिसाबले, आतंकित हुने हिसाबले गरेका छैनौँ । र हामीले के भनेका छौँ भने, राष्ट्रियताका निम्ति सहयोग गर्नुहोस् । हामी त्यो अभियानमा छौँ ।
    यो सुगौली सन्धीको निरन्तरतालाई तोड्न नसक्ने हाम्रो नेताहरु अहिलेसम्म जन्मियो र त्यो तोड्न सक्ने जुन अंग्रेजको पालामा भएको थियो । अंग्रेजले छोडेपनि, इस्ट इन्डियन कम्पनिसँग भएको अर्को १८१६ को सुगौली सन्धीलाई पछिल्लो १९५० को इन्डिया र नेपालबीचको सन्धीलाई तोड्न नसक्ने नेता मात्रै जन्म्या छन् । त्यो सन्धीलाई तोड्नको निम्ति अब यो अभियान, हाम्रो विप्लव कम्रेडसहितको नेकपाले सक्छ । त्यो अभियानमा सहयोग गरिरहहनु भाछ । र हाम्रो अर्को सरकार, सत्ता छ । हामीले हिजो जनयुद्धमा गुमेको सत्ता फिर्ता गर्दैछौँ । र त्यस कारणले अब सत्ता आएपछि त्यसलाई करको दायरामा पनि ल्याउने हुन सक्छ । त्यो प्रक्रियामा अगाडि बढिरहेका छौँ । यसलाई चन्दा भन्न मिल्दैन । सहयोगको रुपमा । अर्कोचाहिँ हाम्रो सत्तालाई कर बुझाउने कि नबुझाउने त ?
    दलाल, यो देश लुट्ने जनतालाई चुस्ने , गरिब बनाउने सरकारलाई चाहिँ कर बुझाउने । कालाबजारी तस्करी गर्नेलाई चाहिँ कर बुझाउने । चप्पलमा हिँडेका नेताहरु मन्त्री भएपछि करोड करोडको गाडी चढ्ने । देशलाई कंगाल बनाउने नेताहरु सरकारलाई कर बुझाउने । हामीले राष्ट्रियता जोगाउने भन्ने हो नि त , हाीमले जनताको समस्या हल गर्ने भन्ने हो नि त । त्यसो हुनाले उहाँहरुले हामप्ीलाई कर बुझाउनु पर्छ भनेर आव्हान गरेका छौ र त्यो अभियानमा हिँडिरहेका छौँ । हामीले चन्दा होइन सहयोग लिएका छौँ । हाम्रो सत्ताको दायरामा आउन आव्हान गरेका छौँ । त्यसरी हामीले हाम्रो पार्टीलाई व्यवस्थित बनाइरहेका छौँ ।

    ९) तपाईहरुले पनि छुट्टै सत्ता घोषणा गरेर कर लिन थालेपछि त्यसको प्रत्यक्षमा मारमा सर्वसाधारण र उद्योगी व्यवसायी पर्ने भए नी ? अब कर सरकारलाई तिर्ने कि नेकपालाई ?
    सर्वसाधरण पर्दैनन् । अर्को त के भन्छ भने, कर किन दिने ? अहिले पछिल्लो चरणमा दोहोरो तेहोरो कर परिराछ । यो चाहिँ के हो त ? उनीहरुलाई मार पर्दैन ? कर किन दिने ? कर लिनको निम्ति जनतालाई केही दिनुपर्छ । उसले राम्रोसँग खानपान दिन सकेको छैन । बाटो दिन सकेको छैन, उसले आवासको व्यवस्था गर्न सकेको छैन । जनतालाई के दिएको छ त ? कंगाल बनाउने मात्रै ? हामीले यो प्रक्रियालाई तोड्नुपर्छ भनेर काम गरेका छौँ । हाम्रो सत्ता निर्माण गर्न, हाम्रो विचार रक्षा गर्नको निम्ति पनि यो आवश्यक छ । अर्को त राष्ट्र निर्माण गर्नको निम्ति हामीले त्यो अभियान जरुर गर्नुपथ्र्यो । खुसिको कुरो जनयुद्ध पछि हाम्रो सत्ता ब्युँझिएको छ । अब यसले आफ्नो आकार लिन्छ । सम्पूर्ण व्यवसायीहरुलाई के भन्छु भने, तपाईँहरु आतंकित हुनुपर्दैन । तपाईँहरुबाट दिने कर, सहयोग खेर जान जाँदैन । राष्ट्रको निम्ति रगत बगाएर बलिदान दिएर हामी पुरा गछौँ । अर्को तपाइँहरुका लागि हामी अभियानमा छौँ । लडाईँमा छौँ । तपाईँहरुको ढुक्क भएर जनसत्ताको करको दायरामा आउन अनुरोध गर्छु । पुरानो सत्ताले भनेको जस्तो, बिग मिडियाले भनेको जस्तो हामी आतंककारी होइनौँ । हामी राजीनितक क्रियाकलाप गर्ने कार्यकर्ता हौँ । राजनीतिक विचार बोक्ने कार्यकर्ता हौँ । र वैज्ञानिक समाजमा सबै मान्छेलाई धनी बनाउने, सबैलाई सुखि बनाउने अभियानमा छौँ । त्यसैले सबैलाई अुनरोध गर्छु, तपाईँहरु आतंकित नहुनुस् । हामीलाई सहयोग गर्नुहोस् । तपाईँहरुको यसैमा जीवन छ , यसैमा रक्षा छ । नत्र, २–४ जना घरानी पुँजीहरुले, राष्ट्रिय पुँजीहरुलाई ध्वस्त बनाउदैछ । तपाईँहरुको रक्षाको निम्ति पनि बैज्ञानिक समाजवाद जरुरी छ । त्यसैले सबैलाई अनुरोध गर्छु ।

    १०) अहिलेको राज्य सत्तासँग तपाईंहरु कसरी प्रस्तुत हुनुहुन्छ ?
    हामी शान्तिपूर्ण ढंगले जनताको बीचमा छौँ । हाम्रो दृष्टिकोण, भिजन जनतालाई सेवा गर्ने, राष्ट्रलाई सेवा गर्ने हिसाबले अगाडि बढिरहेका छौँ । तर, शान्तिपूर्ण कार्यक्रमहरुलाई धरपकड गर्ने, झुटा मुद्दा लगाउने, । प्रवक्ता कम्रेडलाई समातेपछि ४३ वटा मुद्दा लगाइयो । तर, एउटै पुष्टि नहुने मुद्दा किन लगाको त ? भनेपछि यस्तो बेइज्जती सरकार, यस्तो गैरलोकतान्त्रिक सरकार, के जनताको सेवा गर्न सक्छ ? हामी के भन्छौँ भने, शान्तिपुर्ण तरिकाले जनतालाई एकिकृत गर्ने अभियान चलाइरहेका छौँ । तर, यो अभियानमा दमन गर्ने, हत्या गर्ने, झुटा मुद्दा लगाउने, हाम्रा मान्छेलाई बेपत्ता बनाउने , जुन किसिमले शान्तिपुर्ण कार्यक्रम पनि गर्न नदिने भयो भने चाहिँ , त्यहाँ बल प्रयोगको सिद्धान्तमा आउन सक्छ । आउन सक्छ होइन आउँछ नै । माक्सले भने अनुसार, उसलाई अन्याय पर्यो भने बिद्रोह गर्ने अधिकार पनि छ । हामीले भन्दै आएका छौँ पनि हामी त्यो लागू गर्छौँ । उनीहरुले हामीलाई दमन गर्ने, उनीहरुले बन्दुक प्रयोग गर्ने, बम प्रयोग गर्ने, लाठी प्रयोग गर्ने भयो भने लाठीको बदला हामी लाठी प्रयोग गर्छौँ । विचारको बदला विचार प्रयोग गर्छौँ । र हाम्रो अभियान रक्षाको निम्ति, वैज्ञानिक समाजवादको बाटो अगाडि बढ्नको निम्ति काँडाहरु छ भने हामीले हतियार प्रयोग गर्नुपर्ने हुन सक्छ । तर कुन बाटो हिँड्ने भन्ने चाहिँ सरकारकोे कोटमा छ । हामी शान्तिपुर्ण तरिकारले अगाडि बढ्न चाहिरहेका छौँ । तर, उहाँहरुले बल प्रयोग गर्छ भने, हामी चुप बस्दैनौ ।

    २०७५ माघ १६ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सामाजिक सञ्जालको गलत प्रयोग : १५ लाख जरिवाना सहित पाँच वर्ष कैद

    काठमाडौँ । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको...

    सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक

    सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन...

    कृषि मन्त्री खनालले दिए राजीनामा दिने धम्की

    अर्घाखाँची । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले प्रधानमन्त्रीले चाहे मन्त्रिमण्डल फेरवदल हुनसक्ने...

    हेटौंडाबाट मोबाइल चोर्ने दुई जना प्रहरी फन्दामा

    मकवानपुर । मोबाइल चोरीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अजरअमर रोडमा रहेको...

    कार्यदलबारे विवाद भएपछि नेकपाको एकता नै अन्यौलमा

    काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा सांगठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको...