


मकवानपुर । नेपाल चिकित्सक संघले आजबाट देशभरका अस्पतालको आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेपनि हेटौंडा अस्पतालले भने सेवा प्रदान गरिरहेको छ ।
प्रदेश ३ को राजधानी हेटौंडाको एकमात्र सरकारी अस्पतालले आज सेवा नरोकेको हो । हिजो राती अबेर खबर आएका कारण सेवा रोक्न नसकेको अस्पतालका मेसु डा. प्रविण श्रेष्ठले बताए । उनले खबर ढिला थाहा पाएकाले सेवा बन्द गर्न नसकेको उल्लेख गरे ।
उनले बिमारीले टिकट लिइसकेको हुँदा ओपीडीमा आज चिकित्सिकहरुले आफ्नो काम गरिरहेको उनले जानकारी दिए । उनले भने–‘ आजलाई सेवा दिइरहेका छौं । राती अबेर आकस्मिक बाहेकको सेवा बन्द गर्ने भनेर संघले खबर गर्यो । तर एक महिनादेखि आजैका लागि अप्रेसनलगायतका उपचारका लागि बोलाएका बिमारलिाई फर्काउन सकिदैन ।’
उनले आज अस्पताल समयमा आएका बिमारीलाई सेवा प्रदान गर्ने जानकारी दिए । टिकट काटेका बिमारीलाई ओपिडीबाट सम्भव नभए आकस्मिकबाट भएपनि सेवा दिने मेसु श्रेष्ठले बताए । उनले आजलाई अस्पताल सेवा रोक्ने पक्षमा नरहेको जनाए । भोलीललाई अब निर्णय हुन्छ त्यसपछि भन्न सकिने उनले उल्लेख गरे ।
यसैगरी हेटौंडाका अधिकांश निजी अस्पतालले पनि सेवा दिइरहेका छन् ।
अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै त्रिवि शिक्षण अस्पतालसहित देशभरका अस्पतालमा रिले अनसन बसिरहेको संघले माग सुनुवाइ नभएको भन्दै कडा संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो ।
संघका महासचिव डा. लोचन कार्कीले २५ दिनदेखि अनसनरत केसीको जीवन रक्षा गर्न सरकार गम्भीर नबनेपछि बाध्य भएर कडा संघर्षको कार्यक्रम सार्वजनिक गर्नुपरेको बताए । देशभरका सरकारी, गैरसरकारी तथा निजी मेडिकल कलेजका आकस्मिक सेवा सञ्चालन गर्न नरोके पनि ओपीडी लगायतका सेवा बन्द हुने जानकारी डा. कार्कीले दिए ।
संघले वार्ता र संवादबाट तत्काल समस्याको समाधान खोज्न सरकारलाई आग्रहसमेत गरेको छ । अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुने संघको भनाइ छ ।
संघले थप संघर्षका कार्यक्रम घोषणा गरे पनि त्रिवि शिक्षण अस्पताललगायतले बन्द, हडताल नगर्न अपिल गरेका छन् । त्रिवि शिक्षण अस्पतालले बन्द, हडताल निषेध गर्दै त्यसविपरीत प्रस्तुत हुने चिकित्सक तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
२०७५ माघ १८ गते प्रकाशित